नेपालगञ्ज । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा नम्बर ६ सोनवर्षा, गङ्गापुर र कुदरबेटवा पूर्णरुपमा डुबानमा परेका छन् ।
राप्ती नदीमा पानीको सतह बढेपछि सिक्टा सिँचाइ आयोजनाले सोनवर्षा नजिक बनाएको बाँध शुक्रबार अपराह्न फुटेको छ । बाँध फुटेपछि सोनवर्षा लगायतका गाउँहरुमा राप्ती नदी पसेकाले डुबान परेको हो ।
बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ सोनवर्षा, गङ्गापुर लगायतका गाउँ डुबानमा परेको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वीरबहादुर सुनार नेतृत्वको प्रहरी टोली सोनवर्षा पुगेर स्थानीहरूको सहयोगमा फुटेको बाँधमा माटो पटान सुरु गरेको छ । सोनवर्षाका स्थानीयलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
सिक्टाले बनाएको बाँध फुटेपछि सो क्षेत्रको पुरै मानव बस्ती जलमग्न भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि उक्त बाँध फुटेर मानव बस्तीमा पसेको छ । यता गाउँपालिकाका अध्यक्ष साहले बाढी प्रभावित बस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित ठाउँ पठाउने तयारी गरिएको बताउँदै मानवीय क्षति हुन नदिन आफू लागिपरेको बताए ।
सिक्टाले बनाएको बाँध फुटेपछि गाउँपालिका अध्यक्ष साहको प्रत्यक्ष निगरानीमा बाँधमा माटो पटान भइरहेको स्थानीयहरूले बताएका छन् । राति परेकाले बाँकी पटान कार्य शनिबार गरिने जनाइएको छ ।