काठमाडौँ। अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रवार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो।
प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको थियो। प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिइएको विद्युत प्राधिकरण हटलाइन सेवाले जानकारी दिएको छ। प्राधिकरणले हापुरे सब स्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् ।
प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्ति दिने छ । इआरएस टावर जडानका लागि सर्वेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने छ ।