बर्दिया । केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बर्दियाको बारबर्दिया र गुलरिया नगरपालिका जोड्ने बबई नदीको पुल बगाएको छ। पुल भासिएपछि दुई पालिका जोड्ने सडक पूर्णरुपमा अवरोध भएको छ ।
पुल बगाएपछि पूर्व–पश्चिम राजमार्ग जोड्ने गुलरिया–रम्मापुर सडक खण्डमा सवारी साधन आवतजावत बन्द भएको छ । ०७४ साल साउन २८ गते बाढीले भासिएको पुल शनिबार बगाएको हो । १७ वटा स्परमध्ये पूर्वतिरको एउटा पिलरको पुल बबई नदीको बाढीले बगाएको छ । यसअघि भासिएको पुलबाट मानिस र हलुका सवारी साधन आउजाउ गर्ने गर्थे । पूर्वपश्चिम राजमार्ग जोड्ने उक्त पुल बगाएपछि बारबर्दिया र गुलरियाका हजारौं बासिन्दा प्रभावित भएका छन् ।
करिब दश वर्षअघि निर्माण सुरु भएको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै भासिएको थियो । निर्वाचनको मुखमा यो पुल बगाएपछि चुनाव प्रसारलगायत सुरक्षाकर्मी आउजाउमा समस्या हुने भएको छ ।