काठमाण्डौं। जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८।७९ भित्र सडक पुर्याउने गरी निर्माण अघि बढाइने भएको छ। ट्रयाक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको छ।
राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्रयाक खोल्न बाँकी रहेकामा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो। ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन।
ट्रयाक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ। विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ। सेनाले ट्रयाक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए। सेना र विभाग मिलेर चालू आवभित्रै ट्रयाक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने उनले बताए।
अहिलेसम्म ट्रयाक खुलिसकेको सडक आठ मिटर चौडाइको छ। यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेका छन्। सेनाले ट्रयाक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए।
सेनाले खुलाएको ट्रयाक पनि विस्तार गरेर आठ मिटर नै चौडा बनाइनेछ। सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए। चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ। सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन। नेपाल सरकारको बजेटबाट नै स्तरोन्नति गर्न लागिएको हो।
स्थानीयवासीलाई मनाएर ट्रयाक खुलाइने गरिएको छ। हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५।१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ। उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण कार्य बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए।
सेनाले खुलाउने बाहेकको बाँकी रहेको सडक र अस्थायी बेलिब्रीज योजना कार्यालयले निर्माण व्यवसायीमार्फत निर्माण गर्नेछ। हिल्सा सिमकोट सडक खण्ड ९५ किमीको ट्रयाक खोलिसकेको छ। सोही सडकखण्डको च्याछारा भीरको ग्रेड मिलाइसकेपछि सिमकोटबाट सोझै चीनको सिमाना हिल्सा पुग्न सकिनेछ।