काठमाडौं। बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएको छ। सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।
स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।
पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालकहरुको भनाइ छ ।
सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो । दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन् ।
केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेको स्थानीयको भनाइ छ।