कोटेश्वर काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको पूर्वी मुख्य नाका हो। कोटेश्वर चोकमा आकाशे पुल र अन्डरपास निर्माणको प्रक्रिया अझै अगाडि बढ्न सकेको छैन। जसले गर्दा कोटेश्वरमा ट्राफिक जाम नभएको दिन नै हुँदैन। यहाँ सडक विस्तार भए पनि यातायातका साधन बढेपछि दिनहुँ हुने सवारी जामले यात्रुलाई सास्ती भएको छ। त्यसैले सरकारले तीनकुनेको मुनिभैरवस्थानदेखि जडीबुटी हुँदै मनहरा खोलापारिसम्म सुरुङमार्ग निर्माण गर्नुपर्ने कुरा सबैतिरबाट उठेको भएपनि कार्यान्यनमा भने आउन सकेको छैन।
तीनकुने–सूर्यविनायक सडक ६ लेनको फराकिलो भए पनि कोटेश्वर–जडीबुटीमा अत्याधिक जाम हुने गरेको छ। सो जाम छिचोल्न बसबाट ओर्लिएर पैदल यात्रा गर्नसमेत यात्रुहरु बाध्य भएका छन्। सर्वसाधारण मात्र होइन, यहाँ एम्बुलेन्स, दमकलसमेत जाममा पर्ने गरेका छन्। ट्राफिक प्रहरीले जामलाई न्यूनीकरण गर्न हरउपाय गरे पनि अत्याधिक सवारी साधन र अन्डरपास एवम् ओभरब्रिज नहुँदा व्यवस्थापन गर्न सकिरहेको छैन। त्यसैले स्थायी रुपमा वैकल्पिक उपाय भनेको सुरुङमार्ग नै हुने देखिन्छ। बेला–बेलामा यस स्थानमा सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य अगाडि बढाएको समाचार आएपनि प्रत्यक्षरुपमा काम शुरु नभएसम्म ढुक्क हुन सकिने अवस्था छैन।