काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा जलविद्युत विकासका लागि उपयुक्त वातावरण निर्माण गरिएको बताएकी छन्। उनले कानूनी सुधार, क्षेत्रीय तहमा बजार विस्तार तथा स्वतन्त्ररुपमा विद्युत् नियम आयोग स्थापना गरेर जलविद्युत् क्षेत्रको विकासका लागि उपयुक्त वातावरण निर्माण गरिएको बताएकी हुन्।
स्वीट्जरल्याण्डको जेनेभामा यही अक्टोबर १३ देखि १५ सम्म आयोजना भएको ‘विकासोन्मुख देशमा जलविद्युत् क्षेत्रमा लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’लाई भिडियो सम्बोधन गर्दै उनले जलविद्युत् आयोजना निर्माण र सञ्चालनका क्रममा आउने जोखिम न्यूनीकरण गर्ने व्यवस्था गरिएको समेत बताइन्।
मन्त्री भुसालले भनिन्, ‘जियोलोजिक तथा हाइड्रोलोजिकल समस्याका कारण परियोजनामा क्षति पुगेमा पाँच वर्ष उत्पादन इजाजत थप गर्ने प्रावधान राखिएको छ। विदेशी मुद्रा विनिमयका कारण हुनसक्ने जोखिम न्यूनीकरण गर्न हेजिङको व्यवस्था गरिएको छ।’
ठूला परियोजनाबाट अनुमानित प्रतिफल सुनिश्चितताको व्यवस्था गरिएको जानकारी दिँँदै मन्त्री भुसालले जलविद्युत् विकासमा निजी क्षेत्रको सहभागिता बढाउन यससम्बन्धी नीति, कर कानून सुधार गरिएको बताइन् । जलविद्युत् परियोजनाको विकास गर्न विगतमा निजी क्षेत्रसँग धेरै सम्झौता भइसकेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने योजना रहेको उनले बताइन्।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्नु सरकारको प्रमुख चासो रहेको जनाउँदै उनले नेपालले अवलम्बन गरेको लगानीमैत्री नीतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई समान व्यवहार गर्ने बताइन् ।