सिन्धुली। सिन्धुलीको कमला नदीमा सडक पुल निर्माण भएको छ। सो पुल निर्माण भएसँगै कमलाखोंच क्षेत्रका स्थानीय बासीन्दाको सामाजिक र आर्थिक जीवनमा आमूल परिवर्तन आएको छ।
विगतमा यहाँका स्थानीय बासीन्दा सडक पुलहरुको अभावमा कष्टकर जीवन बिताएका थिए। तर अहिले भने कमलाखोंच क्षेत्रमा रहेको कमलानदीमा आधा दर्जनको संख्यामा सडकपुलहरु निर्माण भएपछि त्यस क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण आएको हो। सिन्धुलीको कमलाखोंच क्षेत्रमा पुलको अभावमा वर्षायाममा स्थानीय बासीन्दाहरुलाई कमला नदी आवतजावत गर्न समस्या भएको थियो।
तर पछिल्लो समयमा दुधौली नगरपालिका क्षेत्रमा कमला नदीमा ५ वटा तावा नदीमा २ वटा पुल निर्माण भएपछि स्थानीय बासीन्दाहरुलाई हिउँद र वर्षाको समय आवागमनमा सहज भएको स्थानीयको भनाइ छ। मदन भण्डारी राजमार्ग पूर्वीखण्डको निर्माणको क्रममा पुल निर्माणको ठेक्का पाएको रसुवा कन्ट्रक्सन कम्पनी र लुम्बिनी विल्डर्सले कमला नदी क्षेत्रका साना ठूला सबै स्थानमा पुलको निर्माण गरिदिएको छ।
जसले गर्दा कमलाखोंच क्षेत्रमा बसोबास गर्ने बासीन्दाहरुलाई आवागमनमा सहज भएको छ। सडक पुलको निर्माणले कमलाखोंच क्षेत्रमा अवस्थित दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासीन्दाहरुको जीवनयापनका साथै सामाजिक, आर्थिक, शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा रुपान्तरण भएको हो । ईमेज खबरबाट