झापा । कालोपत्रे गरेको एक महिना नपुग्दै बिर्तामोड नगरपालिकाले सडक भत्काएको छ । बिर्तामोडको शनिश्चरे रोडदेखि बुधबारे हटिया जाने सडकमा गरिएको रिपेयरिङ्ग कालोपत्रे नगरपालिकाले भत्काएको हो ।
बिहीबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालसहितको टोलीले ग्रेडर लगाएर कालोपत्रे भत्काएको हो । गत असोज २३ गते उपभोक्ता समितिमार्फत निर्माण गरिएको करीब ५० मिटर सडकमा गुणस्तरीय काम नभएको नगरपालिकाको आरोप छ ।
सडकमा गरिएको कालोपत्रे मापदण्ड विपरीत भएपछि जोत्न बाध्य भएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए । उनले यस नगरपालिकाभित्र सडक, पुल, ढल, भवन आदि निर्माणको काम गुणस्तरहिन भेटिएमा यही प्रकारको कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले सडक निर्माणको काम गुणस्तरीय नभएका कारण जनगुनासोहरु आएपछि भत्काएको बताए । अनुगमनकाक्रममा क्वानटीटी र क्वालिटी दुवै नपाएकोले पुनःनिर्माणको लागि ग्रेडर लगाएर भत्काएको उनको भनाइ छ ।