काठमाडौं। नेपाल आयल निगमले आफू अझै ठूलो घाटामा रहेको बताएको छ। निगमले एक सूचना जारी गर्दै ईण्डियन आयल कर्पोरेशन लिमिटेड, नेपाल सरकार र राष्ट्रिय बाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको जनाएको हो।
निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य बैकसँग ३ अर्ब ऋण लिएर पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई व्यवस्थित गरिरहेको समेत जानकारी दिएको छ।
पछिल्लो पटक १ अक्टोबर २०२२ मा इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट आएको पेट्रोलियम पदार्थको खरिद मूल्यसूची बमोजिम पेट्रोल, डिजेल लगायत अन्य पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले २० महिनाको लामो अन्तराल पछि निगम नाफामा आएको थियो । पुनः १६ अक्टोबर, २०२२ मा इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट आएको मूल्यसूचीमा डिजेल र हवाई इन्धनको मूल्य अत्यधिक बढेर आएको अवस्था छ। सो अनुसार पेट्रोलमा रु१.७४ प्रति लिटर डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु१०.२५ प्रति लिटरले बढेर आएको हुँदा डिजेलमा रु ६.३४ प्रति लिटर घाटा (रु। १८.५१ करोड घाटा ) र एल पी ग्यासमा रु ३२५.४४ प्रति सिलिण्डर घाटा (रु ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र ईण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको छ । जसले गर्दा निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको खुदा बिक्री मूल्य यथावत राख्ने भएको छ।