रोल्पा । प्युठान–रोल्पा जोड्ने सुलिचौर–अरेस सडकखण्ड सुचारु गराउन नेपाली सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृति गाउँपालिकाको पहलमा पहिरोका कारण एक वर्षदेखि अवरुद्ध सडक मर्मत गर्न सेना परिचालन गरिएको हो ।
रोल्पास्थित नेपाली सेनाको बटुक दल गण कात्तिक ७ गतेदेखि यस सडकखण्ड निर्माणमा लागेको छ। दैनिक रूपमा ब्लास्टर टोली प्रयोग गरी सडकखण्डमा रहेको अवरोध पन्छाउने काम गरिरहेको सेनाले जनाएको छ। सडकखण्डमा ढुंगा र चट्टान भएकोले ब्लास्टिङ गर्नुपरेको हो।
सुनिल स्मृति गाउँपालिका वडा नं ४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डमा पहिरो गएपछि रोल्पा र प्युठान जिल्ला जोड्ने उक्त सडक एक वर्षदेखि अवरुद्ध थियो । वर्ष दिनदेखि सडक अवरुद्ध हुँदा दैनिक यस सडक भएर हिँड्नु पर्ने सर्वसाधारण र स्थानीयलाई समस्या भएको थियो ।
एक वर्षपछि भएपनि सडक मर्मत भइ पुन: सुचारु हुने भएपछि स्थानीय खुसी भएका छन् ।