मोरङ । बाढीका कारण अवरुद्ध भएको विराटनगर विमानस्थलको रात्रीकालीन उडान पनि सुचारु भएको छ । शुक्रबारदेखि विराटनगर विमानस्थलको रात्रीकालीन उडान पुन: सञ्चालनमा आएको हो ।
कात्तिक ३ गते अविरल वर्षाका कारण विमानस्थलमा बाढी पसेर बिग्रिएको एयरफिल्ड ग्राउण्ड लाइटिङ सिस्टम मर्मतपछि रात्रीकालीन उडान फेरि शुरु गरिएको हो ।
विराटनगर विमानस्थलका प्राविधिक अधिकृत रामनिवास यादवले एयरफिल्ड ग्राउण्ड लाइटिङ सिस्टम मर्मतपछि रात्रीकालीन नियमित उडान र अवतरण सेवा पुनः सञ्चालन भएको जानकारी दिए ।
अब विराटनगर विमानस्थलबाट २१ वटा नियमित उडान र सोही संख्यामा अवतरण पनि शुरु भएको छ । विराटनगर विमानस्थलबाट दैनिक १ हजार बढी यात्रुले हवाई यात्रा गर्दैआएका छन् ।