म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (वैकल्पिक) सडक बनाउन लागिएको छ ।
कालीगण्डकीले कटान गरेर यसअघि बनाइएको सडक भासिएर साँघुरिदा सवारी साधन आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले करिब २०० मिटर नयाँ ट्रयाक खोलेर डाइभर्सन बनाउन लागिएको हो ।
डाइभर्सनका लागि ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको दुईवटा स्काभेटरसहितका उपकरण परिचालन भएको छ। नयाँ सडक निर्माण भएपछि साँघुरो र उकालो सडकमा गाडी फसेर यात्रु घण्टौँ जाममा बस्नुपर्ने समस्या हट्ने बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
पहिरोका कारण लामो समयदेखि सडक अवरुद्ध हुँदा सास्ती खेप्नु परेको गुनासो गर्दै स्थानीय पनि नयाँ सडक निर्माण हुने भएपछि खुसी लागेको बताउँछन् ।