काठमाडौं। उड्डयन क्षेत्रको प्रारम्भिक अध्ययन गर्न अमेरिकाको फेडरल एभिएसन एडमसनीस्ट्रेसनका प्रतिनीधि नेपाल आएका छन्। दुईतर्फी हवाई सम्झौता अघि आवश्यक प्रक्रिया सक्न तीन जना प्रतिनीधि बिहीबार साँझ नेपाल आइपुगिसकेका हुन्।
उक्त टोलीले शुक्रबार नेपालको उड्डयन क्षेत्रको अध्ययन गरी शनिबार पुनः स्वदेश फर्कने योजना रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यो टोलीले पछिल्लो ६ महिनायता नेपालले हवाई सुरक्षामा गरेको काम कारबाही र प्रगति बारे अध्ययन गर्नेछ। यसकै आधारमा सिधा उडानको सम्भाव्यता अध्ययन गर्ने बुझिएको छ।
एक महिना अघि नेपाल र अमेरिकाबीच दुईतर्फी हवाई सम्झौताका लागि पत्राचार सुरु भएको थियो। यसका लागि प्राधिकरण र अमेरिकाको फेडरल एभिएसन एडमिसनीस्ट्रेसनबीच पत्राचार भएको थियो।
दुई देशबीच सिधा उडान सुरु भए शैक्षिक, व्यवसायिक तथा अन्य भ्रमणका लागि आउजाउ गर्ने बाह्य पर्यटक र नेपालीका लागि सहज हुने बताइएको छ। अमेरिकी र नेपाली वायुसेवा कम्पनीले सिधा उडान सुरु गरेसँगै प्रतिस्पर्धा बढ्ने र हवाई भाडादर पनि सस्तिने विश्वास गरिएको छ।
नेपाल–अमेरिका दुईतर्फी सिधा हवाई सेवा सुरु गर्ने बारेमा तीन महिना अघिदेखि काम थालिएको हो। प्रारम्भिक छलफल अनुसार अमेरिकाका युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स र नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ।