काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमा उत्पादित विद्युतको उपयोगमा जोड दिन आग्रह गरेकी छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विद्युतीय सवारी र्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी हुन् ।
मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको जानकारी दिइन् । उनले बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको समेत बताइन् ।
उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने उनको धारणा छ । मन्त्री भुसालले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्ने बताइन् ।