गुल्मी । पहिरोले अवरुद्ध भएको रिडी–रुद्रबेनी–वामी सडक खुलाउन सेना परिचालन गरिएको छ । रुरुक्षेत्र गाउँपालिका–२ को साँघुरेमा अवरुद्ध रहेको सडक खुलाउन सेना परिचालन गरिएको हो ।
पहिरोले नौ दिनदेखि अवरुद्ध यस सडक खुलाउन नसकेपछि कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको संयुक्त टोली खटाइएको हो ।
गत कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाले सडकका विभिन्न स्थनमा ठूलो पहिरो खसेको थियो । अवरुद्ध सडक खुलाउन गौंडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो ।
पहिरोको बीचमा ठूलाठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि नेपाली सेनाले विष्फोटन गरी सडक खुलाउने प्रयास गरिरहेको छ ।