भदौ १७ गते राति आएको अविरल वर्षाको कारण पहिरो गई कुश्मा नगरपालिकामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमको अनुसार पहिरोको कारण विगत पाँच दिनदेखि उत्पादन बन्द भयको छ ।
बाढी र पहिरोको कारण आयोजनाको क्यानल र इन्टेकमा क्षति पुग्न गई १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । यसले गर्दा करोडौँको क्षति पुग्नुका साथै चार देखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ । पहिरोले ४ नं प्रसारण लाइनको टावर पनि बगाएको छ ।
आयोजनाका निर्देशक गौतमले रु चारदेखि ६ करोडसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । यसअघि दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पुर्याएको थियो ।