काठमाडौं। राम्दीमा नयाँ पक्की पुल निर्माण गरिने भएको छ। छ दशक अघि बनेको पुल जीर्ण भएपछि सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा र स्याङ्जा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल बन्ने भएको हो।
उक्त पुले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने प्रमुख मार्ग पनि हो। छ दशक अघि पाल्पा र स्याङ्जाको सीमाना राम्दीमा बनेको पुल जीर्ण भएपछि पुरानो पुल नजिकै नयाँ पुल बन्न लागेको हो। सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ मा ‘स्टील ट्रस’ हुँदै राम्दीमा पुल निर्माण गरिएको थियो। हाल उक्त पुल जीर्ण भएर दोहोरो आवत जावतमा रोक लगाइएको छ।
नेपाल सरकार सडक विभाग पुल महाशाखाले हाल सञ्चालनमा रहेको पुलभन्दा सात मिटर तल अर्को पुल बनाउन ठेक्का लगाएको छ । पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेर निर्माण व्यवसायी छनौट गरिएको पुल विभागले जनाएको छ।
आगामी २०८२ असार मसान्तभित्र सक्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भइसकेको बताएको छ। राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ।