काठमाडौं। १९ असोजदेखि २५ गतेसम्मको अविरल वर्षापछि आएको बाढी पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । बाढी पहिरोले कर्णाली राजमार्गको झण्डै ४० किलोमिटर सडक अवरुद्ध थियो । जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्म १ सय ४ किलोमिटरमध्ये ४० किमि पहिरोले पूर्ण अवरुद्ध सडक सोमबारदेखि खुलेको हो । सडक अवरुद्ध हुँदा कर्णालीको जनजीवन नराम्ररी प्रभावित भएको थियो ।

कर्णाली राजमार्ग खुल्न कम्तीमा ४/५ महिना लाग्ने र तत्काल सडक खुल्न सम्भव नरहेको असम्भव तर्क दिइरहेका थिए । तर सडक डिभिजन जुम्ला र नेपाली सेना दिनरात खटेर नागरिकको अपेक्षाभन्दा धेरै छिटो कर्णाली राजमार्ग खुलेको छ । अवरुद्ध भएको २० दिनपछि सोमबार राति ८ः१५ बजेबाट कर्णाली राजमार्ग खुलेको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए । सडक खुलेसँगै माथिल्लो कर्णालीबासी उत्साहित छन् । सडक खुले पनि सडकको दुरावस्था भएकाले स्तरोन्नतिका लागि विशेष बजेट छुट्यानुपर्ने कर्णालीबासीको माग छ । ट्रयाक खोलेर साना गाडी आउजाउ गर्न सहज भएको छ । नागरिक अगुवा राजबहादुर महत भन्छन्, “सुरक्षित यात्रा अझै सम्भव छैन । क्षतविक्षत राजमार्गको सुधारका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेट छुट्याउनु पर्छ ।”
सडक खुले पनि तत्काल सुरक्षित यात्रा हुने छैन । बाढी पहिरोले सडकको अवस्था दुई दशक पहिलाको जस्तो भएको छ । स्तरोन्नतिका लागि संघीय सरकारले विशेष प्याकेजसहित बजेटको व्यवस्थापन गर्न जरुरी रहेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए ।
उनले भने, “यति छिटोल सडक खुल्ने कसैले विश्वास गरेका थिएनन् । सडक डिभिजनका कर्मचारी र सेनाले अप्रत्यासित रूपमा नागरिकको अपेक्षाभन्दा अघि नै सडक खोलेरइच्छा शक्ति, निरन्तरता र उत्तरदायित्वको पाठ सिकाएका छन् । अब स्तरवृद्धिका र बजेट व्यवस्थापनका लागि साझा पहल हुन जरुरी छ।”
सडक खुलेसंँगै उत्साहित कर्णालीबासीले कर्णाली राजमार्गलाई भरपर्दो र सुरक्षित बनाउन संघ, केन्द्र र स्थानीय तहका सबै नेताले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।कारोबारबाट