काठमाडौं। हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बिहीबारदेखि उडान सुरु गर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि लागू भएको हिउँदे उडान तालिकाअनुसार काठमाडौँमा हुँदै आएका तीन उडानको एक उडान भैरहवामा सारेपछि हिमालयले गौतम बुद्ध विमानस्थलमा चार्टर उडानबाट हवाई सेवा सुरु गर्न लागेको हो।
यो विमानस्थलबाट उडान थाल्ने विषयमा प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ। प्राधिकरणका अनुसार नियमित उडान सुरु गर्नुअघि एयर सर्भिस एग्रिमेन्ट नवीकरण गर्न समय लाग्ने भएपछि हिमालयले भैरहवाबाट चार्टर उडान सुरु गर्न लागेको जनाएको छ। हिमालय एयरलाइन्स भैरहवाबाट कात्तिक १७ देखि २४ गतेसम्म दैनिक एक यात्रुवाहक चार्टर उडान गर्न मागेको अनुमति प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल वायुसेवा निगमले पनि हिउँदे उडान तालिकाअनुसार नयाँ तालिका सार्वजनिक गर्न सहमति जनाइसकेको छ।
हिमालयले भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर उडान सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले हिमालयको काठमाडौँबाट क्वालालम्पुर गएर भैरहवा फर्किने र भैरहवाबाट क्वालालम्पुर गएर काठमाडौँ फर्किने गरी तीनवटा विमानस्थललाई जोड्ने गरी उडान तालिका स्वीकृत गरेको छ।