म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२ स्थित ज्यामरुककोटका ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन भौतिक पूर्वाधार निर्माण शुरू भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न लागिएको हो।
समुद्री सतहबाट १ हजार ६४८ मिटर उचाइमा रहेको खड्गभवानी कोत करीब ६०० वर्ष पुरानो मानिन्छ । ज्यामरुककोटका ऐतिहासिक, पुरातात्त्विक र पर्यटकीय महत्त्वको बारेमा जानकारी लिने र आवश्यक पूर्वाधारका लागि सहयोग गर्ने उद्देश्यले म्याग्देली प्रवासी संघ (मोना) हङकङको एक टोलीले शनिवार स्थानीय जनप्रतिनिधि र खड्गभवानी कोत तथा गुठी व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेको छ ।
१५औं शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटन गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको बेनी नगरपालिकाले जनाएको छ।
उक्त स्थानमा मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियार समेत छन् । नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष रू. २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा नगरपालिकाको ५ लाख र वडा कार्यालयबाट २ लाख रुपैयाँ बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, २०० मिटर बाटो ढलान, पटांगिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा गुठी व्यवस्थापन समितिले बताएको छ।