काठमाडौं। भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोक सम्मको ‘बाइपास सडक’ निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गरिएको छ। गौरी पार्वती निर्माण सेवा प्रालिलाई दैनिक ०.०५ प्रतिशत (५६ हजार) हर्जना तोकेर अशुल गर्न थालिएको हो।
पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय चितवनले कारबाही गरेको हो।
कार्यालयका अनुसार पाचौं पटक थपिएको म्यादभित्र पनि काम नसकेपछि उक्त निर्माण कम्पनीलाई असोजको सुरूबाट दैनिक हर्जना तिराउन थालिएको छ। अहिलेसम्म निर्माण कम्पनीले ८ लाख रूपैयाँ हर्जना तिरिसकेको कार्यालयले जनाएको छ।
२०७३ सालको पुस १९ गते ठेक्का सम्झौता भएको यो सडकको पाचौं पटक थपिएको म्याद गत भदौ ३१ गते सकिएको थियो।
सुरूआतमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको ६ किलोमिटर सडक ७ मिटर चौडा बनाएर कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो। यसका लागि १२ करोड ८१ लाख ८२ हजार ९४७ रूपैयाँमा सम्झौता भएको थियो। तर केही समयमै डिजाइनमा परिमार्जनगरी बीच भागमा ‘मिडियन’ बनाएर त्यसको दायाँ–बायाँ ७(७ मिटरको कालोपत्रे सडक र दुबैतर्फ एकरएक लेन ग्राभेल सडक बनाउने सम्झौता भयो। पहिले आँपटारीसम्म बनाउने भनिएको ६ किलोमिटर सडकलाई घटाएर ४ किलोमिटर बनाउने भनि १३ करोड ४५ लाख ८२ हजार ७९१ रुपैयाँमा सम्झौता गरिएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार यो सडकको समग्र प्रगति ९१ प्रतिशत छ। करिब ३ प्रतिशत कालोपत्रे गर्न बाँकी छ। ग्राभेलको काम पनि बाँकी छ।