मनाङ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास गर्न अनुरोध गरेकी छन्। मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरी भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य सामाजिक कार्यहरु पनि वातावरणमैत्री बनाउन आग्रह गरेकी छन्। मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् । उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थ प्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यकता औंल्याइन् ।
राष्ट्रपति भण्डारीले भनिन्, ‘मुस्ताङवासी समाजसेवी, उद्योगी र प्रशासकहरूलाई एउटा आग्रह छ, यो जिल्लालाई जलवायु अनुकूलन हुनेगरी यहाँको पूर्वाधार विकास र सामाजिक क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक छ । अहिले जलवायु अनुकूलनमा कार्यक्रम सञ्चालन गर्नु, वातावरणमैत्री निर्माण कार्य सञ्चालन गर्नु र हाम्रो दैनिक जनजीवन पनि त्यो अनुसार गर्नु अत्यन्त आवश्यक छ । यदि भावी पुस्ताका लागि हामीले केही उपहार दिने हो भने हामीले वातावरणमैत्री विकास कार्यहरु, हाम्रो जनजीवनहरु, हाम्रो अर्थ प्रणालीलाई त्यतापटि हामीले लैजानुपर्ने हुन्छ ।’
राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र एवं मुक्तिनाथ मन्दिरलाई व्यापक धार्मिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको बताइन् । उनले धार्मिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै भावी पुस्तामा समेत प्राकृतिक सुन्दरतालाई हस्तान्तरण गर्ने उद्देश्य हुनुपर्ने बताइन् ।