डडेलधुरा। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको भनिएको भूमि फिर्ता ल्याउन कुटनैतिक पहल भइरहेको बताउनुभएको छ ।
शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा नआउने जिकिर गर्नुभयो । उहाँले कुटनैतिक माध्यमबाट मात्र आफ्नो भूमि फिर्ता ल्याउन सकिने बताउनु्भयो ।
देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने दाबी गर्नुभयो । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै उहाँले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गर्नुभयो । प्रधानमन्त्री देउवाले आफू पाँचौंपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताउनुभयो ।