काठमाडौं । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन्।
रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरूणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडै सक्न निर्देशन दिएका हुन् ।
उनले निर्माण कार्य चाँडै सकेर विमानस्थलको उद्घाटन गर्ने अवस्थामा पुर्याउन निर्देशन दिएका छन्। उनले विमानस्थल निर्माणको काम चाँडै गर्नका लागि सरकारले गर्नुपर्ने सहयोग गर्न तयार भएको समेत बताए ।
कार्यबाहक प्रधानमन्त्री खाँडले भने, 'यो एयरपोर्ट अविलम्बै चालु होस्। त्यसका लागि नेपाल सरकारले गम्भीरतापूर्वक आफ्ना कदमहरू अगाडि बढाउने छ। यो एयरपोर्टको माध्यमबाट हामी अन्तर्राष्ट्रिय उडान भर्न चाहान्छौं।'
कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पुर्याउन र आफ्नो जीवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे। उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख गरे।