रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्थापना गरिएको बुद्धमूर्तिको अनावरण गरेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार बुद्धमूर्तिको अनावरण गरेकी हुन्।
मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनी बुद्ध अवतरित स्थान भएकाले यस क्षेत्रको विकासका गतिविधि सघन रुपमा हुनु पर्ने बताइन् ।विश्व सम्पदा स्थल लुम्बिनी विश्वको आकर्षक क्षेत्र भएकोले यसलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा विकास गर्न लुम्बिनी गुरु योजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न अपरिहार्य भएको उनको भनाइ छ ।
यो मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसन नामको संस्थाले म्यानमारमा तयार पार्न लगाएर बहुमूल्य पत्थर ‘ह्वाइट जेड’ बाट तयार पारिएको हो । १ दशमलव ९ मिटर उचाइ, १ मिटर लम्बाइ, ६० सेन्टिमिटर चौडाइ र १ हजार ८ सय केजी तौल रहेको मूर्ति म्यानमारका कालिगढ भिक्षुद्वारा झण्डै ६ महिना लगाएर कुदिएको जनाइएको छ ।