डोटी। डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मंगलबार राति पटक पटक भूकम्प गएको छ। बुुधबार साँझ ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ म्याग्नीच्यूडको र मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पका कारण डोटीमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ। भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा रहेका छन्। त्यसैगरी सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको मृत्यु भएको छ।
भूकम्पले घर भत्किँदा सोही ठाउँका अन्य ५ जना घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।