कास्की। कुश्माः पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनमा पर्ने नयाँ मोदी र लाहाचोक सबस्टेशनको निर्माण सम्पन्न भएको छ। पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुर स्थित नयाँ मोदी सबस्टेशन र माछापुच्छ्रे गाउँपालिका वडा नं १ लाहाचोक स्थित सबस्टेसनको निर्माण यसै साता सकिएको हो। दुवै सबस्टेशनको काम सम्पन्न भए पनि शनिबार न्यू मोदी सबस्टेशन चार्ज भएको छ भने लाहाचोक सबस्टेशनको भने डेढ महिनापछि चार्ज गर्ने तयारी रहेको आयोजना प्रमुखले जानकारी दिएका छन्।
पर्वतको मोदी गाउँपालिकाको देउपुरमा निर्माण भएको यो सबस्टेशन १३२ केभी क्षमताको रहेको छ। सो सबस्टेशन देउपुरमा ६३ रोपनी क्षेत्रफलमा निर्माण भएको हो। सबस्टेशनको सिभिल र इलेक्ट्रिकतर्फको सबै काम, कन्ट्रोल भवन, आवासगृह, पर्खाल, पहुँच मार्ग सबैको काम सम्पन्न भएपछि शनिबार चार्ज गरिएको छ। यसमा साविकको पोखरा–मोदी लाइन पनि जडान गरिएको छ। त्यसैगरी कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन लाहाचोक सबस्टेशनको सबै काम सम्पन्न भएको छ। अब मेसिन जडानको सामान्य काम बाँकी रहेकाले एकदेखि डेढ महिनामा चार्ज गर्ने तयारी भइरहेको छ।
त्यस्तै पर्वत र कास्कीको सीमा भएर भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने विद्युत आयोजनाबाट उत्पादित विद्युतलाई पोखरास्थित सबस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भएको हो। त्यस्तै पर्वतको मोदी गाउँपालिका २ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ। यस प्रसारण लाइनमा १ सय ३८ वटा टावर रहने छन् भने लाहाचोकदेखि लेखनाथसम्मको काम बाँकी रहेकोले त्यो क्षेत्रमा २० देखि २५ वटा टावर निर्माणको काम अझै बाँकी नै छ। स्थानीयको अवरोध लगायतको समस्याका कारण टावर निर्माण हुन नसकेको हो। लेखनाथ सबस्टेशनको काम समेत अन्तिम चरणमा पुगेको आयोजना प्रमुखले जानकारी दिएका छन्।
२ अर्ब २५ करोडको लागतमा निर्माण हुने यस प्रसारणलाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको भए पनि कोरोना, स्थानीयको अवरोध लगायतका कारण केही समय ढिलाइ भएको हो। यस प्रसारणलाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन्। यस प्रसारण लाइन निर्माण भएपछि २ सय मेघावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सकिने छ।