काठमाडौं। सडक डिभिजन नेपालगंजले पप्पु कन्स्ट्रक्सनसँग जब्दिघाट पुल निर्माण सम्झौता तोडेको छ। डिभिजनले ११ वर्ष अघि सम्झौता अनुसार अहिलेसम्म पनि निर्माण नभएपछि ठेक्का तोडेको हो। कार्यालयले आज सूचना प्रकाशित गर्दै ठेक्का तोडीएको जनाएको छ।
डिभिजनले पप्पुलाई पुल निर्माणको क्रममा गल्ती देखिएपछि सच्याउन निर्देशन दिएको थियो। तर कम्पनीले गल्ती सच्याएन। उल्टै निर्माण पनि पूरा गरेन।
गुलरिया र बर्दिया नगरपालिका जोड्ने यो पुल २०६७/६८ मा सम्झौता भएर २०७३/७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनले करिब ४ सय २५ मिटर लम्बाइको पुलको लागत १६ करोड ६८ लाख रूपैयाँमा पाएको थियो।
निर्माणपछि पुल हस्तान्तरण नहुँदै भासिएपछि आयोजना र ठेकेदार कम्पनी आरोप–प्रत्यारोप गर्दै बसेका थिए। सार्वजनिक खरिद अनुगमन कार्यालयले यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा समेत राखिसकेको छ।
