काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले करिब डेढ अर्ब लगानीमा थप नौ मेगावाटको सोलार पावर प्लान्ट निर्माण गर्ने भएको छ । प्राधिकरणले नवलपरासी, लमजुङ र सुर्खेतमा सोलार प्लान्ट बनाउन लागेको हो ।
प्राधिकरणले नै अघि बढाएको यो दोस्रो सोलार प्लान्ट आयोजना हो । यसअघि नुवाकोटमा २५ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याइसकेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका– ७ स्थित गण्डक जलविद्युत् केन्द्रको गण्डक जलविद्युत् केन्द्रको ९.७ बिघा जग्गामा सोलार प्लान्ट बन्नेछ । जसको क्षमता ६ मेगावाट हुनेछ । त्यस्तै, लमजुङस्थित मध्यमस्र्याङ्दी आयोजनाको जग्गामा एक मेगावाट र सुर्खेतस्थित झुप्राखोला जलविद्युत् केन्द्रको जग्गामा दुई मेगावाटको सोलार प्लान्ट बनाइनेछ ।
उक्त तीन आयोजनाको जग्गासहित सम्पूर्ण स्वामित्व प्राधिकरणकै रहेको छ । यसरी आफ्नै जग्गामा सोलार प्लान्ट बनाउँदा लागत कम पर्ने प्राधिकरणको भनाइ छ । आयोजनालाई आवश्यक पर्ने सवस्टेसनसमेत नजिकै रहकाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सजिलो हुने बताइएको छ ।