काठमाडौं। जल तथा मौसम विज्ञान विभागले पर्वतारोहण र पदयात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। हिमपातको सम्भावना रहेकाले आज पदयात्रा र पर्वतारोहण गर्दा सावधानी अपनाउन विभागले आग्रह गरेको हो।
हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भु–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भू–भागमा मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन आग्रह गरेको हो।
यस्तै तापक्रममा कमि आउने सम्भावना भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।