ताप्लेजुङ। किरात धर्म दर्शनका पुनरुत्थानकर्ता राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्णकदको सालिक अनावरण गरिएको छ । महागुरुको १३८ औं जन्मजयन्तीमा किरात धर्मगुरु आत्मनन्द लिङ्देन र गुरुआमा साँवा पवित्रा हाङमाले सालिक अनावरण गरेका हुन् ।
फाल्गुनन्दका अनुयायीहरुको सक्रियतामा सदरमुकाम फुङलिङको तोक्मेडाँडामा १३५ क्विन्टल तौलको ५ फुट अग्लो सालिक बनाइएको छ।
धर्मगुरु लिङ्देन पाथीभरा मुक्कुमलुङ पुगेर अनावरण कार्यक्रममा सहभागी भएका थिए । लिङ्देनले शुक्रबार नै फुङलिङको बिहीबारेमा निर्माण गरिएको माङहिङ (मन्दिर) को समेत उद्घाटन गरे । तोक्मेडाँडामा निर्माण गरिएको सालिकमा झन्डै १ करोड रुपैयाँ लगानी भएको किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङले जनाएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिमका अनुसार तत्कालीन समाजमा विद्यमान छोरीचेलीबाट रीत नलिनु, नखानु, मासु, मदिरा सेवन नगर्नु, बलि पूजा नगर्नु नगराउनुलगायतका सातबुँदे समाज सुधारका नीति फाल्गुनन्दले ल्याएका थिए । उनले तत्कालीन थुम–थुमका किरातहरुलाई बोलाइ बृहत् चुम्लुङ गरी तत्कालीन समाजका विकृतिहरुलाई हटाउन सत्यधर्म मुचुल्का समेत गराएका थिए ।