रसुवा। एघार मेगावाटबाट क्षमता वृद्धि गरी १४ दशमलव ६ पुर्याइएको माथिल्लो साञ्जेन तथा ३५ मेगावाटबाट ४२ दशमलव ५ मेवा पुर्याइएको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य यस वर्षदेखि सुरू हुने भएको छ। यी दुवै आयोजनाबाट कुल ५७ दशमलव १ मेगावाट विद्युत् उत्पादन हुने भएको छ। रसुवा जिल्लाको चिलिमे जलविद्युत् केन्द्रबाट ६ किलोमिटर माथि अवस्थित साञ्जेन खोलाको पानीबाट यी आयोजनाहरू सञ्चालन गरिन लागेका हुन्। यी दुवै परियोजनाको कुल लागत साढे सात अर्ब रहने बताइएको छ।
शुरूको अध्ययनले माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको उत्पादन क्षमता ११ मेवा मात्रै देखाएकोमा अहिले उक्त क्षमतालई १४ मेवामा बढाइएको हो। उक्त आयोजनाले १८० वर्ग किलोमिटर नदी क्षेत्र ओगटेको छ। हेडवर्कस् रसुवाको तिलिचो तथा सिम्बु गाविसमा रहेको छ। हेड ग्रोस १ सय ६१ दशमलव ३ मिटरको रहेको छ। उक्त पानीलाई संकलन पोखरीमा ल्याइनेछ। यसमा ४६ हजार घनमिटर पानी राख्न सकिने क्षमता रहेको छ। उक्त आयोजनाबाट वार्षिक ८२ दशमलव ५५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ।