बागलुङ। धवलागिरि अस्पतालले पहिलो पटक सुविधा सम्पन्न एम्बुलेन्स पाएको छ। बागलुङ नगरपालिका र अष्ट्रेलियामा रहेका नेपालीको सहयोगमा अस्पतालले सुविधासम्पन्न एम्बुलेन्स पाएको हो ।
फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहीबार धवलागिरि अस्पताल परिसरमा आइपुगेको अस्पताल प्रशासनले जनाएको छ। यसअघि अस्पतालमा एउटा मात्रै पुरानो मोडलको गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिँदै आएको थियो ।
एम्बुलेन्स खरिदका लागि अस्पतालले रु ५८ लाख खर्चेको हो । अष्टेलियामा रहेका नेपालीले रु ४८ लाख र बागलुङ नगरपालिकाले गत आर्थिक वर्षमै रु ३२ लाख सहयोग गरेका थिए । एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मी राख्न सकिने, भित्रै अक्सिजन जडान भएको, सुविधासम्पन्न बिस्तारा, बिरामी कुरुवाका लागि छुट्टै बस्ने व्यवस्थालगायतका सुविधा रहेको छ।
यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा अक्सिजन सिलिण्डरसमेत बाहिर राख्नुपर्ने अवस्था थियो । नेपाल सरकारले वर्गीकरण गरेका एम्बुलेन्स मध्य ‘ख’ वर्गको एम्बुलेन्स अस्पतालले ल्याएको हो ।