काठमाडौं। सम्झौता गरिएको समय भन्दा अगाडीनै सडक निर्माण सम्पन्न भएको छ। डोल्पा जोड्ने सडक निर्धारित समयअघि नै सम्पन्न भएको हो।
समय भन्दा अगाडीने सडक निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ। मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा ६ महिना अगाडि सम्पन्न भएको हो। चालू आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमि सडक ६ महिनामै सम्पन्न भएको हो। गत २७ चैतमा सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो ।
सडक निर्माण सम्पन्न गर्ने मिति ३० असोज २०८० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्यांकनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ।
सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबिन पर्खाल लगाउने तथा खाल्डाखुल्डी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो। चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको निर्माण कम्पनीले जनाएको छ। उक्त निर्माण व्यवसायीलाई डिभिजनले सम्मान गर्ने बताइएको छ।
पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ ।