काठमाडौं महानगरपालिका ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भू-माफियाको चंगुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरू गरिएको छ।
बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरू गरिएको हो। बागमती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ।
स्थानीयबासीलाई आवश्यक परेका बेला खुला स्थानका रूपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए।
संयुक्त राष्ट्रसंघ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ। नदी किनारमा वाटिका निर्माणपछि बागमती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ।