भैरहवा। गत वर्ष कोभिड–१९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ। अक्टोबर महिना सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमनले लुम्बिनी क्षेत्रको चहलपहल बढेको हो।
गत वर्षको अक्टोबरको तुलनामा यो वर्षको सोही महिनासम्म पर्यटकको उल्लेख्य वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ।
सन् २०२१ को अक्टोबर महिनासम्म आन्तरिक र बाह्य गरी दुई लाख ८९ हजार ६९५ जनाले लुम्बिनी भ्रमण गरेकामा २०२२ को अक्टोबर सम्ममा पर्यटकको सङ्ख्या बढेर छ लाख २६ हजार ४५२ पुगेको कोषले जनाएको छ। गत वर्ष अक्टोबरसम्म राहदानीबाहक पर्यटक ६०५ जनाले लुम्बिनी भ्रमण गरेकामा २०२२ मा १३ हजार १६६ जना पुगेका बताइएको छ। त्यस्तै गत वर्ष १८ हजार ६६८ जना भारतीय पर्यटक आएकामा यो वर्ष यो सङ्ख्या वृद्धि भई एक लाख ४९ हजार ६०९ जना पुगेको छ। अघिल्लो वर्ष कोरोना महामारीले लुम्बिनी भ्रमण गर्ने पर्यटक न्यून हुनु स्वाभाविक भएको बताइएको छ। तर यो वर्ष भने कोभिड जोखिम कम हुँदै गएपछि विदेशी पर्यटकसमेत लुम्बिनी आउने क्रम क्रमशः वृद्धि हुन थालेको छ।
लुम्बिनीमा विदेशीभन्दा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य स्थल पनि हो। गत वर्ष कोभिड महामारीमा पनि दुई लाख ७० हजार ४२२ जना नेपाली पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यो वर्ष अक्टोबर महिनासम्म झन्डै दोब्बर अर्थात् चार लाख ६३ हजार ६७७ जनाले भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्याङ्कमा उल्लेख छ।
पर्यटकलाई मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, स्वदेशी तथा विदेशी विहार, विश्व शान्ति दीपको अवलोकन तथा केन्द्रीय नहरमा डुङ्गा यात्राले आकर्षित गरेको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्ध सर्किटसँग जोडिएको तिरौलाकोट, देवदह र रामग्राम क्षेत्रको समेत अवलोकन गर्न सकिनेछ।