सिन्धुपाल्चोक। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनका ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएका छन्।
निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको हो।
सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको प्राधिकरणले जानकारी दिएको छ ।
खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी-काठमाडौ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो ।