काठमाडौं। कास्कीको मादी गाउँपालिका सिक्लेसमा ७ अर्ब लगानीमा केबलकार बन्ने भएको छ। सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने भएको हो।
कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा फैलने छ ।
केवलकारको तल्लो स्टेसन कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र माथिल्लो स्टेसन सोही गाउँपालिकाको वडा नं. २ मा रहने भएको छ । तल्लो स्टेसन सिक्लेस गाउँको प्वरयुम भन्ने स्थानमा रहने भएको छ । माथिल्लो स्टेसन सिक्लेसको कोरी डाँडामा रहनेछ । केवलकार ६.४१ किलोमिटर लामो रहने समेत परियोजनाले जनाएको छ । सिक्लेस गुरुङ जातिको बाहुल्य रहेको पर्यटकीय गाउँ हो ।
परियोजनाको कुल लागत ६ अर्ब ९० करोड ३७ लाख १८ हजार २४४ रुपैयाँ अनुमान गरिएको छ । आयोजना २७.९९ हेक्टर क्षेत्रफलमा बन्ने भएको छ । यसमध्ये तल्लो स्टेसनमा ७.४६ हेक्टर, बीचको स्टेसनमा २.०४ हेक्टर र माथिल्लो स्टेसनमा ५.७६ हेक्टर जमिन रहने भएको छ । टावरका लागि १२.७३ हेक्टर जमिन प्रयोग हुने भएको छ । यो केवलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ ।
काठमाडौंबाट २३० किलोमिटरको दूरीमा आयोजना रहने छ । आयोजना क्षेत्रबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्मको दूरी ३० किलोमिटरको दूरीमा रहने छ । पोखराबाट प्रस्तावित तल्लो स्टेसनसम्म कच्ची बाटोको पहुँच रहेको छ ।