दार्चुला । अपी हिमाल गाउँपालिका जोड्ने पारिबगर–मकरीगागड सडकखण्ड पहिरोले अवरुद्ध भएको चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन । गत असारमा गएको पहिरोले अवरुद्ध भएको यो सडक अझै मर्मत हुन नसकेको हो ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा अपी हिमाल गाउँपालिकामा दैनिक उपभोग्य वस्तुदेखि हरेक समानमा महंगी बढेको छ। चार महिनादेखि अहिले अपी हिमालको ओखलसम्म मात्रै गाडी चल्दा सामानको मूल्य निरन्तर रूपमा बढेको हो।
अपी हिमाल गाउँपालिका–१ का वडाध्यक्ष धनसिंह जागरीले सर्वसाधारणले अहिले महंगो मूल्यमा खाद्यान्न खानुपरेको बताए। सडक अवरुद्व भएकै कारण दशैंका लागि खाद्य संस्थानको चामल पनि ढुवानी हुन नसकेको र तिहारमा पनि चामल ढुवानी गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
सडक अवरुद्व भएकै कारण यो क्षेत्रमा विद्यालय निर्माणमा प्रयोग हुने जस्तापाता, सिमेन्टलगायतका सामान पनि ढुवानी गर्न समस्या भएको अध्यक्ष जागरीले बताए।