हुम्ला। पहिलोपटक ०६४ को अन्तरिम त्रिवर्षीय योजनामा हुम्ला र डोल्पा सदरमुकाममा सडक सञ्जाल पुर्याउने योजना समेटिएको थियो । योजनाअनुसार काम भएको भए ०६७ मा दुई जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिसकेका हुन्थे । तर, नीति तथा कार्यक्रममा समेट्नमा हतार गर्ने तर लक्ष्य पूरा गर्नमा भने चासो देखिएन ।
त्यसपछि आर्थिक वर्ष ०७२/७३ को नीति तथा कार्यक्रमको बुँदा नम्बर ५१ मा ‘हुम्ला र डोल्पा जिल्लाका सदरमुकामलाई आगामी आर्थिक वर्षमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।’ उल्ललेख गरियो । तर, लक्ष्यमा असफल सरकारले ०७३/७४ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र दुवै जिल्लाका सदरमुकामलाई सडक सञ्जालमा जोड्ने घोषणा गर्यो ।
दोस्रोपटक तोकेको समयभन्दा ढिला गरी २०७५ मंसिरमा डोल्पा सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडे पनि हुम्ला सदरमुकाम सिमकोट अहिलेसम्म जोडिएको छैन । ०७६/७७ को नीति तथा कार्यक्रममा पनि हुम्ला सदरमुकामलाई आगामी आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरेको सरकारले कहिले लक्ष्य पूरा गर्छ निश्चित छैन ।
अहिले कर्णाली करिडोरअन्तर्गत हिल्सासिमकोट सडक आयोजना सञ्चालनमा छ । आयोजनाका अनुसार सिमकोटमा सडक पुग्न अझै १० किमि ट्र्याक खोल्न बाँकी छ । यसमध्ये पनि सात किमि चट्टान क्षेत्र भएकाले सेनालाई जिम्मा लगाइएको छ । यो ट्रयाक छिचोल्न अझै दुई वर्ष लाग्ने अनुमान छ ।