काठमाडौं। सोलुखुम्बुमा खुम्बु र लिखुपिकेको मतपेटिका सदरमुकाम आउन बाँकी रहेको छ । यी दुई क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएपछि मतगणना सुरु गरिने भएको छ ।
जिल्लाको ११९ वटा मतदान केन्द्रहरूको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगी सकेको छ । १३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरूको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खुम्बुको ११ वटा मतदान केन्द्र मध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी ल्याइएको छ भने बाँकी ९ स्थानको मतपेटिकाहरू सङ्कलन पश्चात् हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको छ ।
लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किञ्जामा सङ्कलन गरेर राखिएकाले आज गाडीमार्फत ल्याउने बताइएको छ। आठ पालिका भएको जिल्लामा सोलु दूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा ७ वटा मतदान केन्द्र छन् ।