काठमाडौं। बिहीबारदेखि बन्द भएको जयनगर–कुर्था रेल आजदेखि सञ्चालनमा आएको छ।
मंसिर ४ गते हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि ४ दिनका लागि बन्द गरिएको रेल आजबाट सञ्चालनमा आएको हो।
निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको थियो।
आजदेखि रेल सेवा नियमित रुपमा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।
जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ साल चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।