पोखरा। मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी पुस १७ गतेदेखि व्यावसायिक उडान हुने भएको छ। यान्त्रिक परीक्षण सफल भएपछि आगामी जनवरी १ अर्थात पुस १७ गतेदेखि विमानस्थलबाट व्यावसायिक उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरेको हो।
विमानस्थलमा मङ्सिर ५ गते हिजोदेखि सुरु भएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ १२ गतेसम्म सञ्चालन हुनेछ। परीक्षण उडानका कारण बिहान १० बजेसम्म मात्र अन्य उडान हुन्छ। १० देखि दिउँसो १ बजेसम्म यान्त्रिक परीक्षण उडान हुने र पुनः १ देखि २ः३० बजेसम्म अन्य उडान र त्यसपछि पुनः यान्त्रिक उडान सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।
ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडो पहिलो चरणमा १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।