काठमाडौं। सोलुखुम्बुस्थित सोलु खोलामा निर्माण भएको १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाले मंसिरभित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ । बेनी हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजना यही महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो ।
आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा इलेकट्रोमेकानिकलतर्फको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
यो आयोजनाले उत्पादन गर्ने विद्युत सालु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने प्रसारण लाइन निर्माणको काम पनि पूरा भइसकेको छ।
विद्युतगृहदेखि सबस्टेसनसम्म १२ किलोमिटर प्रसारण लाइनको रुटमा ४१ वटा टावर निर्माण गरिएको छ । यसअघि यो आयोजनाबाट दशैं अगावै विद्युत उत्पादन गर्ने भनिएको थियो । तर, गत भदौमा आएको बाढी सुरुङमार्फत प्रवेश गरी अन्य संरचनामा पनि क्षति पुर्याएका कारण पुनः दोहोर्याएर काम गर्नु परेका कारण मंसिरसम्म तालिका लम्बिएको कम्पनीले जनाएको छ ।