काठमाडौं। हिमाल तथा चुचुरा आरोहणका शरद्मा ७६ देशका पर्यटकले अनुमति पाएका छन्। पर्यटन विभागले शरद् ऋतुमा विभिन्न ४८ ओटा हिमाल तथा चुुचुरा आरोहणका लागि विभिन्न देशका १ हजार ४३५ जनालाई अनुमति दिएको हो ।
सबैभन्दा बढी आम्दानी हुने सगरमाथामा समेत यो सिजनमा आरोहणका लागि अनुमति लिने पर्यटक छन् । वसन्त ऋतुमा पर्यटकको रोजाइ सगरमाथा हिमाल हुन्छ भने शरद्मा ८ हजार १६१ मीटर अग्लो मनासलु हुन्छ । यो वर्षको शरद् सिजनमा पनि मनासलु हिमाल आरोहणका लागि सबैभन्दा धेरैले अनुमति पाएका छन् । विभागको पछिल्लो तथ्यांकअनुसार यो हिमाल आरोहण गर्न ३८ दलका ४०४ जनाले अनुमति पाएका छन् ।
यो सिजनमा हिमाल तथा चुचुरा आरोहणका लागि ३३० महिलाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट पर्यटन विभागले ९ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार मनासलु आरोहण अनुमतिबाट ४ करोड ६२ लाख रुपैयाँ आम्दानी भएको छ । सगरमाथा आरोहणका लागि ५ जनालाई अनुमति जारी गर्दा ३५ लाख रुपैयाँ आम्दानी भएको छ ।
यो सिजनमा युद्धरत देश रसिया र युक्रेनका पर्यटक पनि हिमाल आरोहणका लागि नेपाल आएका छन् । कोरोना भाइरस (कोभिड–१९) कम भएपछि यो वर्ष १० महीनामा पौने ५ लाख पर्यटक नेपाल आइसकेका छन् ।