काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानी गर्न गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको कुराकानीमा नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री देउवाले पत्रकारसँग कुरा गर्दै जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । उनले नेपालमा वातावरणमैत्री जलविद्युत आयोजनामा लगानी उपयुक्त हुने बताएका हुन् ।
पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युतलगायतका स्वच्छ ऊर्जाको प्रयोग गरेर दिगो विकासमा टेवा पुर्याउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।
प्रधानमन्त्री देउवाले नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत गर्ने बताए । एनआरएन वा विदेशी लगानीकर्ता जो आए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिवद्धता समेत प्रधानमन्त्री देउवाले गरे ।