काठमाडौं । अपि पावर कम्पनीले बाराको सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले अहिले सञ्चालनमा रहेको १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना भएकै स्थानमा हरित हाइड्रोजन प्लान्ट निर्माण गर्ने भएको हो ।
सिमरा सौर्य विद्युत आयोजनामा थप ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरी हरित हाइड्रोजन प्लान्ट राख्ने योजना रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार विभिन्न जिल्लामा ५० मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने कम्पनीको योजना अनुरुप पहिलो प्लान्ट सिमरामा राख्न लागिएको हो।
जलविद्युत र सौर्य ऊर्जापछि कम्पनीले अब हरित हाइड्रोजनमा लगानी गर्ने बताइएको छ। विद्युतको बजार व्यवस्थापन गर्नका लागि पनि अबको लगानी हरित हाइड्रोजनमा हुनुपर्ने बताइएको छ।
दार्चुलामा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गरेपछि हरित हाइड्रोजन प्लान्ट निर्माणको काम थालिने छ। सिमरामा हरित हाइड्रोजन प्लान्ट राख्न पहिले थप ४ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण हुनेछ।
कूल ५ मेगावाटको सौर्य विद्युत आयोजना निर्माण गरेर त्यहाँबाट उत्पादन हुने विद्युतको खपत हरित हाइड्रोजन प्लान्टमा उपयोग गरिने छ । अपि पावरले विभिन्न जिल्लामा गरी ५० मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्न भारतको ग्रिनजो इनर्जी कम्पनीसँग समझदारी गरेको छ ।