काठमाडौं। निजी क्षेत्रले निर्माण गरी सञ्चालन गरेका विद्युत आयोजनाको जडित क्षमता १२ सय मेगावाट नजिक पुगेको छ। निजी क्षेत्रका १३८ विद्युत आयोजनाको ११ सय ९७ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको हो।
नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका अनुसार अहिले १३६ विद्युत आयोजनाले व्यापारिक उत्पादन गरिरहेका छन् । निजी क्षेत्रले ३ दशकको अवधिमा जलविद्युत र सौर्य विद्युत आयोजनामा लगानी गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान गरिरहेको छ।
२०७९ साल सुरु भए यता निजी क्षेत्रले निर्माण पूरा गरेका विद्युत आयोजनाको १७० मेगावाट विद्युत प्रसारण प्रणालीमा थपिएको छ । बैशाखदेखि कात्तिकसम्मको अवधिमा जलविद्युत र सौर्य गरी ११ विद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएका छन्।