काठमाडौँ। यतिबेला भुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भरिभराउ भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनपछि राजधानी फर्किनेहरुका कारण आन्तरिकतर्फको हवाई उडान भरिभराउ भएको हो।
आन्तरिकका साथै अन्तर्राष्ट्रिय उडानमा पनि हवाई यात्रुको चाप बढ्दै गएको छ । हाल चाडपर्वपछि विदेशबाट फर्किने, वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि बाह्य मुलुक जाने यात्रुले अन्तर्राष्ट्रिय उडान र निर्वाचनको चहलपहलले आन्तरिकतर्फको उडान भरिभराउ रहेको हो। पछिल्लो समय काठमाडौँ विमानस्थलबाट आन्तरिकतर्फ दैनिक ११ हजार र अन्तर्राष्ट्रियतर्फ दैनिक १४ हजार यात्रुले ओहोरदोहोर गर्दै आएको विमानस्थल प्रशासनले जनाएको छ।
अहिले हिमाली जिल्लाका कर्मचारी, मतपत्र, मतमेटिका, उम्मेदवारलाई बोक्न र उद्धार उडान गर्नसमेत हेलिकोप्टरलाई भ्याइनभ्याइ छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ दैनिक १४० को हाराहारीमा उडान तथा अवतरण हुँदै आएको छ।
त्यस्तै अन्तर्राष्ट्रियतर्फ भने दैनिक ८० को हाराहारीमा उडान तथा अवतरण हुँदैआएको छ । यात्रुवाहक उडानको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चाप बढ्दा राति १० बजेसम्म नै आन्तरिक उडान हुँदै आएको छ । बढ्दो हवाई ट्राफिकका कारण पछिल्लो समय जहाज ‘डिले’ हुने क्रम बढेको छ ।